यसकारण ‘जीवन काँडा कि फूल’ खेलेँ

0

मेनुका प्रधान

‘मान्छेले समयभन्दा काल बाँच्नुपर्छ’ भन्दै आफ्नै सार्थक र अद्वितीय जीवन बाँचिरहेकी झमक घिमिरेको कथानक अब चलचित्रको पर्दामा पनि उत्रिएको छ । शारीरिक रूपमा अशक्त रहेर पनि मानसिक सशक्त स्थितिका बलमा झमकले ‘जीवन : काँडा कि फूल’ को प्रतिकात्मक अर्थ र बुझाइले नेपाली सिर्जन जगतमा जेजति नामकाम देखाइन्, त्यो अथाह छ, अपार छ ।

आफ्नी बहिनीले पढेको, लेखेको देखेर र सुनेर खुट्टाको औँलाले बालुवामा ‘क’ लेख्ने यत्नमा जुटेकी झमकको काँडा जीवनले कसरी देश–दुनियाँलाई देखाउन सकिनेगरी फूलको रूप लियो भन्ने सन्देश पनि उनकै आत्मकथा पढेर धेरथोर थाहा पाउन सकिन्छ ।

यतिखेर सन्दर्भ छ, उनै झमक र उनको ‘जीवन : काँडा कि फूल’ कृतिबारे । यही आत्मकथामा उभिएर निर्देशक विनोद विष्टले फरक धारको चलचित्र बनाउने उद्घोष गरेपछि म पनि यसमा जोडिएकी थिएँ । मणिपुरी तथा नेपाली चलचित्रहरू ‘प्रेम प्रतिज्ञा’, ‘संघर्ष’, ‘म कसरी भनुँ’ र केही म्युजिक भिडियोमा नामकाम देखाइसकेका विष्टले नेपाली चलचित्र जगतमा पहिलोपटक एउटा जीवित पात्रको ‘बायोपिक’ बनाउन लागेको समाचारले म आल्हादित बनेकी थिएँ । योभन्दा महत्त्वपूर्ण पक्ष त यो पर्दाको कथानकमा म स्वयम्ले पनि एउटा पात्रका रूपमा उभिनुपर्ने प्रस्ताव सुनेरै म एउटा इतिहासको भागिदार बन्नसकेकोमा धन्य ठानिरहेकी थिएँ । निर्देशक विष्टले यो कथानकमा छानेका पात्रहरू आफैंमा अब्बल त थिएँ नै । त्यसमा पनि बाल्यकालीन र युवाकालीन झमकको छनोट गर्नमा देखाएको दौडधुप (तरक्की) म अझै सम्झिरहेकी छु । निर्देशक विष्टले दर्जनौँ प्रतिभालाई तौलेर गाडीधुराकी ७ वर्षीय नृत्यांगना अवस्था थापालाई बाल झमकका रूपमा र काठमाडौँ थिएटर भिलेजकी नाट्य कलाकार रोजिता बुद्धाचार्यलाई हुर्किएकी झमकका रूपमा छानेको समेत थाहा पाएँ । यी पात्र छान्नमै झन्डै डेढ वर्ष लागेको पृष्ठभूमि आफैंमा यहाँ उल्लेख्य हुनसक्छ ।

२०१५ को नोभेम्बरको एक बिहानी मैले पनि ‘जीवन : काँडा कि फूल’ को पटकथा हात पारेँ । विष्ट ब्रदर्स फिल्मको व्यानरमा बन्नलागेको फिल्ममा कला निर्देशक सन्तोष लामाले लेखक झमककै घर धनकुटा, कचिंडे वरपर फिल्मको सेट तयार गर्नेबारे पनि जानकारी पाएँ । यत्रो तयारीपछि २०१६ को मार्चमा मात्रै फिल्म सुटिङका लागि म पनि दार्जिलिङबाट धनकुटातिर लागेँ । बीच बाटामा अर्का लेखक एवं बन्नलागेको फिल्मका कलाकार डा. गोविन्दराज भट्टराईको साथ मिल्यो ।

धनकुटा उत्रँदा निर्देशक विष्ट, गायिका जुनु गौतम, पटकथा लेखक मुक्ति उपाध्याय, नृत्यनिर्देशक कमल राई सबैजना आफ्नै व्यस्ततामा पाएँ । त्यो भिडमा ‘परालको आगो’ फिल्मकी ऐतिहासिक नायिका भनेर मलाई चिनारी गराउँदा कताकता अप्ठ्यारो लागिरहेको थियो । किनभने म इतिहासमा मात्रै थिएँ, वर्तमान बल्ल बन्नै लागेको थियो । त्यहाँ फिल्मको पटकथा अनुसार भूमिका निर्वाह गर्न अभिनेत्री उमा बेबी, किशन सुनार, संगीतकार प्रकाश शिवाकोटी, फोटोग्राफर महेश थापा, रोजिता बुद्धाचार्य, सारिका घिमिरेसहितको भिडभाड देख्न पाएँ ।

धनकुटा उत्रिएको भोलिपल्ट झमकको निवास कचिंडेपतर लागेँ, फिल्म सुटिङको स्पट पनि त्यहीँ रहेको थाहा भइसकेको थियो । फिल्मी अभिनयभन्दा हतार त मलाई साधक झमकलाई भेट्नु थियो, दर्शन गर्नु थियो । ‘म मेनुका प्रधान, तपाईंकी हजुरआमाको भूमिकामा खेल्दैछु’, भेट हुनासाथै झमकलाई मैले सुनाएँ । अनि झमकले नजिकै कपी तानेर खुट्टाको औँलामा कलम चेपेर लेखिन्—‘खुसी लाग्यो म्याडम…।’
‘किन म्याडम ? कसरी म्याडम ? मलाई मनपरेन’, मैले फेरि जिज्ञासा राखेँ ।

‘हुन्छ नि त, अबदेखि दिज्यू भन्छु’, फेरि झमकले लेखिन् ।

यसरी आत्मीयता बढ्दै गयो, झमक परिवार आफ्नैझैं बन्यो । झन्डै २० दिनको सुटिङ अवधिका कारण हामी एउटै छानामुनिका आफन्त बन्यौँ । अझ रमाइलो त के छ भने अहिले पनि झमक र उनकी बहिनी मौसमीसित फेसबुक मेसेन्जरमार्फत कुराकानी भइरहेकै हुन्छ । भूमिकामा झमककी हजुरआमाको दृश्यमा म उत्रिएकी थिएँ । फरिया, चौबन्दी, चोली, पटुका, ढुङ्ग्री, मुन्द्रीसहितको पोसाकमा म झमकका सामु पुगेकी थिएँ । झमकले हत्तपत्त कापीमा लेखेर भनिहालिन्, ‘मेरी हजुरआमाले मुन्द्री लगाएको मलाई थाहा छैन ।’

अनि हत्तपत्त मुन्द्री फुकालेर झमकले भनेकै हजुरआमा बनेँ । ‘जीवन : काँडा कि फूल’ मा झमककी हजुरआमाको देहावसान अति मार्मिक ढंगमा भएको वर्णन गरिएको छ । झमकका आमाबाबु उसलाई हजुरआमासित छाडी माइत गएका बेला अचानक हृदयाघात भएर हजुरआमाको मृत्यु भएको हुन्छ । सानी झमक हजुरआमाको मृत्यु भइसकेको यथार्थबारे बेखबर हुन्छे । तैपनि हजुरआमा सामुमा हल न चल भएर सुतेको देख्दा देब्रे खुट्टाले झकझकाउँदै उठाउने प्रयास गरिरहेकी हुन्छे । नउठेपछि मृत हजुरआमासँगै टाँसिएर सुतेको दृश्य आफैंमा कारुणिक थियो । यो दृश्यमा अभिनय गरिरहँदा म आफैं मर्माहत बनेकी थिएँ ।

यसरी एउटा यथार्थ जीवनको कथा घेरामा बाँधिएर अभिनय गर्न पाउनु र अभिनय गर्नुलाई मैले पहिलोपटक असाध्य काम भन्ठानेकी छु । झमक घिमिरे साहित्यिक प्रतिष्ठान र धनकुटाका स्थानीय बासिन्दाले यो यथार्थ कथामा अझ प्राण भर्ने काम गरेका छन् । यसरी अनेक तहका भगीरथ यत्नले बनिसकेको ‘जीवन : काँडा कि फूल’ निकट भविष्यमा नेपालका सम्पूर्ण सिनेमा हलमा प्रदर्शनमा आउने खबरले मैले साहित्यिक द्रष्टा झमक वरपर बितेको समयको स्मरण गर्न चाहेकी हुँ ।

लेखक नेपाली फिल्म ‘परालको आगो’ की नायिका हुन् ।

The text was originally published in ekantipur.com

Share.

About Author

Leave A Reply