किम्फको नेपाल पानारोमामा १४ फिल्म देखाइने

0

पर्वतीय विषयमा आधारित फिल्म मेला काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को नेपाली पानारोमाअन्तर्गत १४ फिल्म प्रदर्शन हुँदैछन् ।

मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र पर्यटन बोर्डमा हुने १७ औं संस्करणका लागि ६९ देशका ४ सय २७ फिल्म प्राप्त भएकोमा २९ देशका ६६ वटा फिल्म देखाइने भएका छन् ।

नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म प्रदर्शन हुनेछन् ।

प्रदर्शन गरिने फिल्ममा १७ फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश छन् । अन्तर्राष्ट्रय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन् । ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिनेछन् । त्यसबाहेक महोत्सवमा तीन वटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी गरिनेछ । स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । माफिल कोट्स (बेलायत), जे. क्यु ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन् ।

‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सव उद्घाटनमा ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शनी गरिनेछ । महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन गरिनेछ । यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना हुनेछ । जसमा घनश्याम गुरुङ, समुन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् ।

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको महोत्सव सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ । ‘पछिल्लो समय नेपाली फिल्मलाई अन्तराष्ट्र्रिय बजारमा पु¥याउन गृहकार्य गरिरहेका छौं,’ महोत्सव आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले भने ।

महोत्सवको सहआयोजक काठमाण्डौ महानगरपालिका रहेको छ भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्नेछ । चलचित्र विकास बोर्ड, नेपाल पर्वतारोहण संघ लगायतका संघसंस्थाहरुको सहयोग रहनेछ ।

Share.

About Author

Leave A Reply