टाइम म्यागजिनका उत्कृष्ट १० फिल्म

0

भोलिदेखि वर्ष २०२० सुरु हुँदैछ । बितेको वर्ष निकै चर्चित रह्यो । वर्षको अन्त्यमा फिल्मलाई लिएर खास चर्चा हुने गर्छ । विश्व मिडिया टपटेन फिल्मको सूचि उतार्न व्यस्त हुन्छन् ।

विश्वचर्चित टाइम म्यागजिनले संसारका उत्कृष्ट १० फिल्म छानेको छ । यस सूचिमा सबै फिल्म हलिउडका मात्रै छैनन् । अंग्र्र्रेजी बाहेकका भाषाबाट पनि सूचिमा अटाएका छन् । पहिलो नम्बरमै स्पेनी फिल्मले स्थान ओगटेको छ ।

पेन एन्ड ग्लोरी
यो फिल्मलाई पेड्रो अल्माडेभोरले निर्देशन गरेका हुन् । अभिनेत्री मनिषा कोइरालाले उनलाई भगवान भनेकी थिइन् । अल अबाइट माइ फादर, टक टु हरजस्ता कैंयन फिल्म बनाएका पेड्रोको यो सेमीबायोग्रिफकल फिल्म हो । स्पेनी भाषाको फिल्ममा पेनोलोप क्रुज अभिनेत्री छिन् ।

द आइरिसम्यान
मार्टिन स्कोरसिज निर्देशित यो फिल्म गत महिना नेटफिल्क्समा रिलिज भएको थियो । हलिउडको प्रसिद्ध जोडी स्कोरसिज र रोबर्ट डी निरोले यो फिल्मका लागि सहकार्य गरेका छन् ।

वन्स अपन अ टाइम इन हलिउड
यसवर्ष क्वान्टिन टारान्टिनो निर्देशित वन्स अपन अ टाइम इन हलिउड निकै चर्चित रह्यो । कान्सदेखि थिएटरसम्म यसलाई दर्शकले रुचाए । ब्राड पिट र लियोनार्दो डिकाप्रियोको जोडी यसमा थिए । हलिउडका ब्रान्ड समेत रहेका टारान्टिनोले ६० को दशकको हलिउडको कथा भनेका छन् ।

म्यारिज स्टोरी
नोआ बउमस निर्देशित यो फिल्मले परिवारको कथा भन्छ । एडम ड्राइभर र स्कारलेट जोहान्सन मुख्य भूमिकामा छन् । सम्बन्ध विच्छेदको संघारमा पुगेको एक दम्पतिको कथा जसलाई जीवनमा आउने संकटबाट केही थाहा छैन, यसको कथावस्तु हो ।

लिटल वुमन
डेढसय वर्ष पुरानो पुस्तकमाथि अहिले बनेको फिल्म हो यो । काल्पनिक उपन्यासमा फिल्म आधारित छ । घटना, पात्र र समय पुरानो भएपनि संवेदनालाई वर्तमान तुल्याइएको छ । लेडी बर्ड निर्देशक ग्रेट ग्रेउइगले निर्देशक नोआसँग सहकार्य गरेकी छन् ।

प्यारासाइट
दक्षिण कोरियाली फिल्म प्यारासाइट यसवर्षको अस्करको अन्तराष्ट्रिय फिचरतर्फ उत्कृष्ट ९ मा अटाएको छ । बोन जोन हुको यो फिल्मले कान्स ग्रान्ड जुरी प्राइज पनि जित्यो । सिओलको एक धनाढ्य परिवार र बेसमेन्टमा गुजारा गरिरहेको एक गरिब परिवारको कथा यसले भन्छ ।

नाइभ्स आउट
स्टार वार श्रृंखलामा काम गरिरहेका रायन जोन्सनले ब्रिक तथा लुपर निर्देशन गरिसकेका छन् । यसवर्ष रिलिज भएको उनको फिल्म नाइभ्स आउट भने थ्रीलर र मिस्ट्रि जनरमा थियो । जेम्स बन्ड अभिनेता डेनियल क्रेग तथा अन्ना डे अरमासको अभिनयले समेत मन जित्यो ।

डोलेमाइट इज माइ नेम
एडी मर्फी अभिनित यो हलिउड फिल्म यसवर्ष रिलिज भयो । क्रेग बुअरले निर्देशन गरेको फिल्ममा रुडी र मुर्रेको भूमिकामा अभिनय गरेका छन् ।

अ ब्युटिफूल डे इन द नेवरहुड
टम ह्यांक्स हलिउडका ठूला नाम हुन् । उनी अभिनित फिल्म यसवर्ष रिलिज भयो । उनले अभिनय गरे चर्चा चुलिन्छ । यस वर्ष भने उनी टेलिभिजनमा बच्चाका कार्यक्रमको चर्चित होस्ट फ्रेज रोजसको भूमिकामा देखिए ।

हस्लर्स
सन् २००८ मा अमेरिकी अर्थतन्त्र ध्वस्त भएपछि दुई नर्तकी प्रतिभा देखाएर लालनपोषणका लागि संघर्ष गर्छन् । उनीहरु एकल आमा पनि हुन् । जेनिफर लोफेज र कन्स्ट्यान्ट उले फिल्ममा अभिनय गरेका छन् । लोरेन स्काफरिया निर्देशित फिल्मले समाजको कथा गहिरोसँग भन्छ ।

Share.

About Author

Leave A Reply