फिल्म समिक्षा : सेल्फी किङ

0

विष्णु शर्मा
रेटिङ : ३/५

प्रविधिको बदलिँदो आयामलाई ख्याल गर्दै अक्सफोर्ड डिस्नेरीले वर्ष २०१३ मा ‘सेल्फी’लाई वर्ष शब्द घोषणा गर्‍यो । शब्दकोषमा छाप्नुअघि अक्सफोर्डले सेल्फी शब्दले जीवनमा ल्याएको अभूतपूर्व परिवर्तनको चर्चा समेत गरेको छ ।

फिल्म ‘सेल्फी किङ’ले भने मान्छेको जीवनमा स्मार्टफोनले ल्याएको खुशि र निर्ममतालाई चित्रण गर्छ । ‘हाँसो भित्रको पीडा’ बटमलाइन बुनिएको फिल्मले नेपाली समाजमा सेलेव्रिटी हुनुको जीवन बाँचिरहेका मान्छेको दुर्दान्त पोत्छ ।

दर्शकले सेल्फी किङसँग दुई खाले यात्रा गर्छन् । पहिलो –काठमाण्डौंदेखि सल्लेरीसम्मको झुर यात्रा र दोस्रो –आफ्नै बाउको दाहसंस्कार गर्न नपाएको एउटा हाँस्य कलाकारको मनोवैज्ञानिक यात्रा । द्धन्द्धका यी दुईखाले आयाम सेल्फी किङ हो ।

गोपाल दाहाल पात्रको भूमिकामा छन् बिपिन कार्की । सेल्फी किङ नामले चर्चित छ पात्र । बाउको उपचारमा पैसा जुटाउन उसलाई सोलुखुम्बुमा स्टेज प्रस्तुति गर्नुछ । औधी माया गर्ने बाउलाई छाडेर ऊ सोलु पुग्छ । यो मेसोमा उसँग दुईटा उपाय आइपर्छन् : स्टारडमको भारी बिसाउने कि मृत्यु शैय्यामा पुगेका बाउको मुख हेर्न काठमाण्डौं फर्कने ? सेल्फी किङ प्रश्नको उत्तर हो ।

हेर्दा सामान्य लागेपनि फिल्मले गम्भिर कुरा उठाएको छ । प्रविधिले मान्छेको स्वभावमा ल्याएको राम्रा–नराम्रा परिवर्तनबारे फिल्मले सजग गराउँछ । स्टारडमको चम्किलो जीवन बाँचेको पात्रले आर्यघाटसम्मको यात्रा तय गर्नु एउटा दार्शनिक विम्व पनि हो । सेल्फी किङ पात्र भन्छ : स्टारडम मुतको न्यानो मात्र हो । कलाकार बन्न खलाँसीले पढेको जति भएमात्र पुग्छ ।’

विशाल सापकोटाले नयाँ निर्देशकीय अप्रोच गरेका छन् । कथ्यमा केही नवीनता लाग्छ । रोड र ड्रामा जनरमार्फत निर्देशकले मुख्य पात्रको कथा भन्छन् । सेल्फी किङ रोड मूभिको एउटा उपकथा हो जुनसँगै दर्शक पात्रसँगै सल्लेरीको यात्रा गर्छन् । यात्राको क्रममा भेटिने पात्र, समस्या र प्रस्तुत गरिने रमाइला कथा सेल्फी किङ हो ।

तर, फिल्मको स्थापनालाई लिएर निर्देशकसामु प्रश्न आउँछन् । प्रोटागोनिस्ट अर्थात मुख्य पात्रको स्थापना अपूर्ण लाग्छ । द्धन्द्ध अझै विकसित र स्थापित हुन सकेको छैन । मुख्य पात्रको चरित्र स्थापना पछाडिका कारण, स्टार हुनुका प्रक्रिया, सामाजिक, दार्शनिक तत्वलाई दृश्यमा प्रस्तुत गरिएको छैन । भर्बल ल्यांग्वेजमा निर्भर हुँदा फिल्मको मल्टिडायमेन्सन कतै हराएको महसुस हुन्छ ।

दर्शकले मुख्य पात्रको पीडा (सफरिङ)लाई गहिरोरुपमा महसुस गर्न बहुचरित्रकरण जरुरी हुन्छ । प्रोटागोनिस्टसँगको अन्तक्रिया र त्यसबाट सिर्जना हुने मनोवैज्ञानिक स्टेक साहित्यका जरुरी हुन् ।

सांस्कृतिक कार्यक्रमका आयोजकले मुख्य पात्रलाई डोमिनेट गर्नु र प्लेनको टिकट नकाटिनुको कारण स्थापित छैन । सेटिङ स्थापनामा हतार नगर्दा क्राफ्ट अझै मच्योर्ड हुनसक्छ । तर, केही निर्देशकीय अप्रोच प्रशंसनीय छन् । बाउको हातबाट फ्याँकिएको स्लाइन पानी पोखिँदा सिर्जना गरिएको मिजान्सिङ सट् होस् या बाउ मरेको खबर सुन्दा सिर्जना गरिएको दृश्य अनि पृष्ठभूमिमा बजेको रेडियो नेपालको आवाज । यी दुबै दृश्य सेल्फी किङका ‘ब्वाइलिङ प्वाइन्ट’ हुन् । जुन हेर्दा नोस्टाल्जिक लाग्छन् ।

पात्र र द्धन्द्धको मुड विकास गर्ने दृश्य मनोविज्ञान छायांकनमा भेटिन्छ । सफ्ट लाइटमा राम्रा सट् खिच्न सुसन प्रजापति खुबी राख्छन् । रोड मूभिको पूर्वसर्त भनेको भूगोल स्थापना र कथाको यात्रासँग क्यामेराको जर्नी महत्वपूर्ण हो, जुन यसमा छ । मुड सिर्जना गर्नमा ध्वनीको भूमिका राम्रो छ । द्धन्द्ध र त्यसको सघनता पिच्छेको ब्याकग्राउन्ड स्कोर प्रिय लाग्छ । चरित्र चित्रण अनुसारको कस्ट्युम डिजाइन प्रशंसनीय छ । प्राविधिकरुपमा निर्देशकले फिल्मलाई केही हदसम्म ‘वेस्र्टनाइज’ टच दिने जमर्को चाहिँ गरेका छन् ।

समग्रमा सेल्फी किङले फिल्मका दुई पूर्वसर्त आवरण र आत्मालाई सँगै लैजाने प्रयत्न गरेको छ । मानवीय मूल्यका कथा भन्नु अहिलेको खाँचो हो । तपाइँलाई केही नयाँ लाग्ने न्यारेसन शैली र स्वादको फिल्म हेर्न रुचि छ भने सेल्फी किङ तपाइँका लागि योग्य हुनसक्छ । किनभने सेल्फी किङ बलिउड सूत्रबाट मुक्त छ ।

निर्माता : दिनेश राउत, सुवास थापा
निर्देशक : विशाल सापकोटा
ध्वनी : उत्तम न्यौपाने
छायांकन : सुसन प्रजापति
सम्पादन : जीवन थापा
कास्ट : बिपिन कार्की, लक्ष्मी बर्देवा, अभय बराल

Share.

About Author

Leave A Reply