फिल्म समिक्षा : आमा

0

दीपेन्द्र खनाललाई ‘स्टोरी–टेलर’ भन्दा हुन्छ । उनी निर्देशित फिल्म आमा हेरिसकेपछि लाग्यो : उनी अब निर्देशकबाट माथि उठे । प्रविधि र कथ्यमा नयाँ अप्रोचसहित उनले ल्याएको फिल्म आमा यस्तो एउटा क्राफ्ट हो जसमा आवरण र आत्माको संयोजन छ ।

दीपेन्द्रको निर्देशन करियरकै उम्दा फिल्म हो आमा । कला र प्रविधिको एउटा खाँदिलो संयोजन । यस्तो लाग्छ, मान्छे रुवाउने लाइसेन्स अहिले दीपेन्द्र खनालसँग छ । मान्छे रुवाउने कुरालाई सफलताको मानक नमान्ने हो भनेपनि आमासँग बलियो पटकथा, अभिनय, द्धन्द्ध, चरित्र चित्रण र संवेदनाको अन्तर्घुलन छ ।

तीन आमाको कथा पेश गर्छ फिल्मले । अस्पतालको भुइँमा राखिएको पतिको लासमाथि दगुर्ने मुसा धपाउँदै माया साट्ने मिथिला शर्माको आमा भूमिका जसको छोरा अमेरिकी ग्रीनकार्डसँग जीवन साट्दै छ । अर्की आमा सरिता गिरी जसको छोरा जन्मँदै रोगले थलिएको हुन्छ र पति कतारमा कम्पनी कब्जामा छन् । आमा हुने मन पलाएकी सुरक्षा पन्त एक आदर्शवादी छोरी हुन् जसलाई टेस्ट्युव बेबीबाट भएपनि बच्चा जन्माउन सामाजिक दबाब छ ।

भ¥याङबाट लडेर टाउकोमा चोट लागेको पात्रलाई उपचार गराउन उसको परिवारले गर्ने संघर्ष फिल्मको मुख्य द्धन्द्ध हो । अभाव, गरिबी, रेमिटेन्स सपना, छुवाछुत र राजनीतिले सिर्जना गरेका पात्र र लडाइ सहायक द्धन्द्धहरु । कुनैबेला राजेश हमाललाई कपाल कटाएर गसिप कमाएका दीपेन्द्रले अहिले सुरक्षा पन्तमार्फत कपाल खौरिएर महिला समानताको वकालत गर्दैछन् । संवेदना र समानताका लाउड आवाज अहिले दीपेन्द्रका फिल्ममा सुनिन थालेका छन् ।

मानवीय मूल्यको विगठनतर्फ समाज अघि बढिरहँदा फिल्म आमाले भने मान्छे हुनुको मूल्यको खोजी गर्छ । आइफोन र अमेरिकी सपना देख्ने मध्यमवर्गीय समाजको तीव्र सामाजिक रुपान्तरण फिल्म आमा हो जसले भत्किएको पूर्वीय एकल पारिवारिक संरचनालाई समाजशाष्त्रीय कोणबाट चित्रण प्रयत्न गरेको छ । तपाइँ यसलाई हेल्थ ड्रामा पनि भन्न सक्नुहुन्छ जसमा मेडिकल कलेजको लुटतन्त्रदेखि गरिबका लागि स्वास्थ्य कसरी महंगो बन्दैछ भन्ने कुरा छ ।

चरित्र चित्रण, द्धन्द्ध र अभिनयको हिसाबले आमा समकालिन नेपाली फिल्मको उपलब्धी हो । साहित्यलाई प्रविधिसँग एडप्ट गर्न सके, त्यसको प्रतिफल कस्तो होला ? प्रयुक्त वर्गाकार छायांकन (स्क्वायर सिनेमटोग्राफी) र त्यसको दृश्य मनोविज्ञान आमाको अर्को विशेषता हो । पात्र मनोविज्ञान निर्माण गर्न यस्तो खाले छायांकनले भूमिका खेलेको छ । फिल्मसँग लोकेसनको खास अर्थ छैन जति पात्र र कथाले मनलाई बाँध्न सकून । कथाले बाँध्न सक्यो भने तपाइँ कोठाभित्रै फिल्म बनाउन सक्नुहुन्छ । अस्पतालभित्रै फिल्म बोक्नु निर्देशकीय खुबी अवश्य हो ।

सुरक्षा, सरिता र मिथिलाको अभिनय प्रशंसनीय छ । नुसेन्सदेखि मानवीय सुक्ष्मतासम्म यी तीनजनाको अभिनयले प्राण भरेको छ । खासगरि मिथिला र सुरक्षाबीच निर्माण भएको केमेस्ट्रीले दर्शकलाई इन्गेज तुल्याउँछ । रोनाधोन युगबाट आमासम्म आइपुग्दा मिथिलाको अभिनयमा देखिएको परिवर्तन स्वादिलो लाग्छ । एउटा रौँ पनि काट्न नमान्ने कलाकारिताको युगमा महिला पात्रले कपालै खौरिदिनुले के अर्थ राख्छ ?

निर्देशकले वर्षायाममा अस्पतालको सेटिङ खडा गरेका छन् जसले दर्शकमा खास कालखण्डको मनोविज्ञान स्थापना गर्छ । भारतले कोसी ब्यारेजका ढोका नखोल्दा बाढीले नेपालको तराइ डुबानमा परेर जनधनको क्षति भएको समाचार बजाएर निर्देशकले टाइम एन्ड स्पेस सिर्जना गरेका छन् । भारतीय शब्द घुसाएर निर्देशकले फिल्ममा राजनीति छोएका छन् । एउटा निर्देशकले गर्ने राजनीति यही नै हो ।

 केही यस्ता प्रश्न स्वभाविकरुपमा उठ्छन् : उसो भए आमा फिल्मको केन्द्रिय द्धन्द्ध के ? कुन पात्र आधारभूत र कसले कथालाई लिड गरिरहेको छ ? फिल्म आमाले आमाको मूल्यलाई कसरी चित्रण गरेको छ ? यो कसको कथा हो : आमा वा पत्नीको ? यी प्रश्न नेपथ्यमा सिर्जना हुने भएपनि दर्शकसँग भावनात्मक सम्बन्ध निरन्तर भैरहनु यसको सकारात्मक पक्ष हो । जब दर्शक फिल्मभित्रै छिरिदिन्छन्, प्रश्नहरु गौण बन्न थाल्छन् ।

फिल्ममा नवीनता र यथार्थ खोज्ने दर्शकका लागि आमा अनिवार्य फिल्म बन्न सक्छ । बदलिएको नेपाली फिल्मको न्यारेसन र प्रविधिगत ट्रेन्ड बुझ्न आमा क्लास–रुम फिल्म पनि हो ।

निर्माता : शर्मिला पाण्डे
निर्देशक : दीपेन्द्र के खनाल
कास्ट : मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी
छायांकन : दीपेन्द्र खनाल
सम्पादन : दीर्घ खड्का
पाश्र्वध्वनी : नोबल फ्रिक्स

Share.

About Author

Leave A Reply