‘नीरफूल’ ट्रेलर : समाज टिप्न खोज्दा बन्यो फिल्म

0

फिचर फिल्म निर्देशकको रुपमा संचारकर्मी फूलमान बल आफू निर्देशित ‘नीरफूल’को ट्रेलर मंगलबार रिलिज गर्दै थिए । उनले सुरुमै महत्वपूर्ण कुरा भने, ‘समाज टिप्न खोज्दा नीरफूल बनेको हो ।’

उनको यस्तो अभिव्यक्तिले नेपाली फिल्म न्यारेटिभको मूल मर्ममै छुन्छ । ‘फिल्ममा समाज अटाएन भन्ने आरोपलाई यस फिल्मले मेटाउने प्रयत्न गरेको छ’ उनले भने, ‘हामीले भूकम्पमा घर भत्किएको कुरा हैन, मन र सम्बन्ध भत्किएको कुरा भनेका छौं ।’

धादिङको उत्तरी पर्यटकीय थलो रुबी भ्याली (पाङसाङ)मा भुइँचालोले घर भत्काएपछि हराएका पति, छोरी र पत्नी खोज्न हिँडेको एक परिवारको कथा यसमा छ । दयाहाङ राई, शान्ति राई र बुद्धि तामाङले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

प्रेसमिटमै अभिनेता राईले फिल्मबारे चर्चा गरे । ‘यो एउटा समयको कथा हो र हामी सबै त्यसमा अटाएका छौं’ उनले भने । कवि, गीतकार र लेखकको रुपमा परिचय बनाएका फूलमान बलको यो पहिलो फिचर हो । यसअघि उनी निर्देशित छोटो फिल्म ‘सेलफोन’ले अन्तराष्ट्रिय अवार्ड समेत जितेको थियो ।

फिल्मको कथा रुचाएर बर्मेली नेपालीले यसमा लगानी गरेका छन् । निर्माणमा गैरआवसिय नेपालीहरुको समेत सहयोग छ । चैत ७ गते प्रदर्शन हुने फिल्मलाई सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

Share.

About Author

Leave A Reply