भाइरस संकटपछिको विश्व फिल्म

0

विष्णु शर्मा
एउटा प्रोटिन अणुको महामारीले विश्व लकडाउन स्थितीमा छ । भाइरस संकटबीच नेपालले नयाँवर्ष २०७७ सेलिव्रेट गर्दैछ । बितेको ३० दिनले विश्व भविष्यकै पटकथा पुनर्लेखन गरिदिएको छ ।

महामारीमाथि धेरैले धेरै कुरा लेखे । मलाई चाहिँ अरुन्धती रोय, फरिद जकारिया, सीके लाल, सूर्यराज आचार्य र पल क्रुगम्यान पठनीय लागे । यी सबै विचारको निष्कर्ष थियो : अब विश्वको भाष्य (न्यारेटिभ)मा अभूतपूर्व परिवर्तन हुँदैछ ।

फाइनान्सियल टाइम्समा अरुन्धतीले लेखिन् : अहिलेको परिस्थिती नयाँ र पुरानो विश्वबीचको महाद्धार हो । पल क्रुगम्यानले न्यूयोर्क टाइम्समा लेखे : अबको विश्व बिफोर कोरोना र आफ्टर कोरोना (बीसी र एसी)को रुपमा परिभाषित हुनेछ ।

फरिद जकारियाले सीएनएन टकसोमा भने : विश्व ग्रेट डिप्रेसनतर्फ उन्मुख हुँदैछ र चीन महाशक्ति बन्नेतर्फ उन्मुख छ । यी सबै लेखको निष्कर्ष मान्यताहरु बदलिँदैछन् भन्ने नै हुन् । सबै शक्ति राष्ट्र र मूल्यहरुको औकात कोभिड १९ महामारीले देखाइदियो ।

‘सेलेव्रिटी कल्चर इज बर्निङ’ अर्थात सेलेव्रिटी संस्कृतिमा आइरहेको ह्रास शीर्षकको अमान्डा हेस लिखित आलेख अहिले चर्चामा छ । जहाँ उनले मार्भलका सुपरहिरो भान्सामा पसेर पाककलाको ज्ञान बाँड्दै गर्दा कसरी चिकित्सक र नर्सले फ्रन्टलाइनमा उभिएर संसारको रक्षा गर्दैछन् भन्ने कुराको चर्चा गरेकी छन् । उनी लेख्छिन् : सुपरहिरो, सेलेव्रिटी र आममान्छेको ग्याप मेटियो ।

संसारले बाँचिरहेको समय एउटै हो अहिले । यो समयका पीडा र अनुभव समान छन् । पहिलोपटक विश्व बक्सअफिस जिरोमा झरेको छ । आलेख लेखिरहँदा संसारका ९० प्रतिशत सिनेमा घर ठप्प छन् । चीनले भने हलहरु खुला गर्दैछ । ५० वर्षे इतिहासमा नेपाली फिल्मले अभूतपूर्व संकटको सामना गर्दैछ ।

घरेलु फिल्मका लागि आगामी वर्ष कष्टकर हुने पक्का छ । दुई महिनामा नेपाली हलले ५० करोडभन्दा बढी गुमाउने हिसाब छ । हलिउड रिपोर्टरका अनुसार विश्व बक्सअफिसले महामारीका कारण ५ विलियन अमेरिकी डलर क्षति व्योहोर्न सक्छ ।

हलिउड जिरोमा लकडाउन हुँदा चीनले भने उल्टै फिल्महरुको रिलिज मिति घोषणा गर्न थालेको छ । यो पान्डेमिकलाई आफ्नो प्रभुत्व विस्तार गर्ने मौका देखेको चीनले अमेरिका, युरोप र अष्ट्रेलियाका कर्पोरेट हाउस खरिद गर्न अनुरोध गरेको खबर आइरहेका छन् ।

हलिउड रिपोर्टरकै हालैको एउटा लेखमा चिनियाँ धनाढ्यहरुले यो संकटमा विदेशी फिल्म कम्पनी खरिद गर्ने इच्छाहरु व्यक्त गरेको कुरा उल्लेख थियो । वैश्विक महामारी कसरी चीनका लागि अनुकूल बन्दैछ भन्ने कुराको प्रष्टोक्ती हो यो ।

महामारीले बक्सअफिस अंकगणितमा तत्कालिन प्रभाव देखाएपनि दूरगामी असर भने कलात्मकरुपमा धेरैपछिसम्म पर्नेछ । ‘कोन्टाजिन’ शीर्षकको हलिउड साइन्स फिक्सनले त धेरै पहिले आजको वस्तुस्थिती चित्रण गरिसकेको थियो । यस मामिलामा समाजभन्दा फिल्मको गति धेरै अगडि रहेको भन्न मिल्छ । कोरोना भाइरसपछि विश्व फिल्मले अझै मानवीय मूल्य र नैतिकताका साइन्स फिक्सन र फेमिली ड्रामा प्राप्त गर्नेछ । कोभिड १९ ले मार्भल सुपरहिरो र थानोसजस्ता भिलेनको उपस्थितीमै प्रश्नचिन्ह लगाइदिएको पक्का हो ।

हामीले देख्यौं : फिल्म हलहरु बन्द हुँदा कसरी अमेजन प्राइम, डिज्ने प्लस, एप्पल, हुलु र नेटफ्ल्क्सिजस्ता स्ट्रिमिङ साइटमार्फत दर्शकले फिल्म हेरेर मजा लिए । नेपालमै डिस होम र युटयुवमार्फत नयाँ–नयाँ फिल्म चले । बक्सअफिस शुन्यमा झर्दा कसरी स्ट्रिमिङ र एप्स सेवा मौलाए भन्ने प्रत्यक्ष प्रमाण लकडाउनको कालखण्ड हो ।

यो आयामको सीधा अर्थ हुन्छ : स्ट्रिमिङ सेवाले दर्शकको फिल्म हेर्ने बानी बदल्दैछन् र डिजिटल मिडियाको प्रभुत्व अझै स्थापित हुने क्रममा छ । कोरोना भाइरस पछाडि हलसम्म दर्शकीय उपस्थितीमा हुने प्रभाव विश्व फिल्मकै लागि एउटा महत्वपूर्ण केस स्टडी बन्न सक्छ ।

वर्ष २०७६ मा नेपालमा ५६ फिल्म रिलिज भए । कालो वर्षदेखि सुरु भएको रिलिजको श्रीगणेश धुलो नामक फिल्ममा आएर टुंगियो । आमा, छ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी र जात्रै जात्राले मात्र बक्सअफिसमा आफूलाई अब्बल तुल्याए । आमाले वस्तुगत र विषयगत दुबै कोणमा प्रशंसा बटुल्यो । सरकारले हल बन्द गर्न भनेपछि प्रेमगीत ३, चपली हाइट ३, म यस्तो गीत गाउँछु २, नीरफूल, माइकल अधिकारी, लक्का जवानले प्रदर्शन मिति पोस्टपोन्ड गरे । नीरफूलले ट्रेलरबाटै राम्रो प्रतिक्रिया बटुल्न सकेको थियो ।

एकाधबाहेक वर्ष २०७६ समिक्षात्मक कोणमा आशावादी रहेन । आमासहित घामड शेरे, सेल्फी किङ, जीवन काँडा कि फूल, कीर्तिपुरजस्ता फिल्मले कथ्यशैली र भाष्यमा नयाँ प्रयत्न गरे । भूकम्प लगत्तै जन्मिएको पशुपति प्रसाद पात्रले चरित्र चित्रणमा नयाँ आयाम दिएको थियो । तर, भाइरस संकटले नेपाली फिल्मको कथ्य परम्परामा कस्तो बेन्चमार्क देला वा स्टाइलिस फिल्मको बहानामा पासवर्ड, जाइरा, साङ्लो, सरौतोजस्ता फिल्मकै नदी बग्ला ? फिल्ममा आत्मा र आवरणको विमर्श कोरोना–भाइरसपछि पनि निरन्तर हुनेछ ।

भाइरस संकटले कलासहित फिल्मको आवरणलाई धक्का दिएको स्पष्ट छ । फिल्ममा आश्रित जनसंख्या बेरोजगार हुने मात्र हैन, केही हिस्सा पेशाबाटै पलायन हुने स्थिती छ । सीधा असर प्रदर्शक र प्राविधिकमा देख्न सकिन्छ । कोरोनाले हल बन्द हुँदा बैंकको ऋण तिर्नुपर्ने र धेरै कर्मचारीलाई पाल्नुपर्ने बाध्यतामा रहेका मल्टिप्लेक्सलाई असर पुग्न सक्छ ।

नेपाली फिल्मको मुख्य लगानीकर्ताको रुपमा रहेको डायस्पोराले स्वयम कोरोना संकट खेपिरहेको कारण तत्काल कमब्याक हुने स्थिती छैन । लाखौं पारिश्रमिक लिने ‘स्टार’को रेट न्यून विन्दुमा खुम्चनसक्छ । डिजिटल प्लेटफर्मको रुपमा रहेका डीस होम, केबल टिभि र युट्युव च्यानल निर्मातालाई संकटको साथी बन्नसक्छन् ।

तत्कालिन प्रभाव चाहिँ रिलिज पाइपलाइनमा रहेका फिल्ममा पर्नेछ । हलिउडमा जेम्स बन्डसहित मार्भल फिल्मले रिलिज मिति अर्को वर्ष धकेलेका छन् । कोरोना संकट बुझेरै बलिउडले आगामी जुनदेखि मात्र नयाँ क्यालेन्डर बनाएको छ । नयाँवर्ष छेकोमा रिलिज तयारीमा रहेका फिल्म पछाडि धकेलिँदा सीधा प्रभाव वर्षभर पर्नेछ । कोरोना असर सामान्य हुने हो भने पनि ठूला फिल्म हेर्न दशैं कुर्नुपर्छ । विदेशमा समेत फिल्म पोस्टपोन्ड भएकाले अर्कोवर्षको रिलिज क्यालेन्डरमा जुध्ने र भीड्ने समस्या चर्को हुनेमा शंका छैन ।

भाइरस संकट तत्काल समाधान हुने त छैन तर आवश्यक सतर्कतासहित सामान्य जीवनमा फर्कनुपर्ने चुनौति हामीसँग छ । यसका लागि नागरिकलाई मनोरञ्जन दिने दायित्व फिल्म निर्मातासँग छ । हलसम्म दर्शक फर्काउने चुनौति पनि । यसका लागि निर्माताले राम्रा फिल्म बनाएर दर्शकलाई कमब्याक तुल्याउन सक्नुपर्छ । लकडाउनले बोरिङ भएको दर्शकीय मुडलाई ठीक पार्ने थेरापीको भूमिका फिल्मले खेल्न सक्नुपर्छ यतिबेला ।

अरुन्धती रोयले लेखेजस्तै अहिलेको समय नयाँ विश्व भर्सेस पुरानो विश्व हो । इतिहासमा महाव्याधिहरुले आफ्नो विगतलाई भत्काएर नयाँ भविष्यको कल्पना गर्न बाध्य तुल्याएका छन् । यो संकट पनि तिनीहरुभन्दा पृथक छैन । अब मार्भलका सुपरहिरो हैन, सेतो एप्रोन पहिरिएका डाक्टर र नर्स सुपरहिरो नेपाली फिल्ममा चरित्र चित्रण हुनेछन् । मान्यता र व्याख्या बदलिनेछन् र सिनेमाले अझै मानवीय सेवा गर्नेछन् । सबैलाई नयाँवर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !

Share.

About Author

Leave A Reply