किम्फ फेस्टिभलद्धारा सात फिल्म इन्टरनेट रिलिज

0

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा प्रदर्शन गरिएका उत्कृष्ट नेपाली गैरआख्यान तथा छोटा फिल्म अनलाइनमार्फत सार्वजनिक भएका छन्।

विश्वव्यापी कोरोना महामारीका कारण घरमै बन्द अवस्थामा बस्नु परेकाले यो समयलाई उपयोगी बनाउन अनलाइनमै फिल्म हेर्न सुविधा दिइएको किम्फले जनाएको छ। २०७२ को भुइँचालोको पाँचौं वर्ष पुगेको सन्दर्भ पारेर किम्फले सातवटा फिल्म सार्वजनिक गरेको हो।

यी फिल्म किम्फको वेबसाइट तथा फेसबुक पेजमा ‍गएर हेर्न सकिनेछ। आगामी दिनमा क्रमश: थप फिल्म सार्वजनिक गर्दै जाने किम्फले जनाएको छ। सार्वजनिक फिल्मका नाम, फिल्मबारे संक्षिप्त जानकारी र युट्युब र भिमियोका लिंक र पासवर्ड यसप्रकार छन्-

छोटा फिल्मः
आफ्टर द क्वेक

आयुष निरौलाद्वारा निर्देशित ‘आफ्टर द क्वेक’ सबभन्दा पुरानो र व्यस्त सरकारी अस्पताल वीरमा उपचारका लागि आउने बिरामीलाई बाधा नपरोस् भनेर सक्रिय स्वयंसेवकहरूको उदाहरणीय कामको कथा हो। उनीहरूको यो प्रयासले धैरै मानिसको ज्यान बचाउन सहयोग पुगेको थियो।

धरतीपुत्र
‘धरतीपुत्र’ एउटा छोटो डकुमेन्ट्री हो जसमा भुइँचालोमा आफ्नो बच्चा लगभग हराएकी एउटी आमाको कथालाई देखाइएको छ। यसका निर्देशक आदित्य खड्का हुन्।

रेडियो मेलम्ची १०७.२
यो संकटको समयमा पनि जनतालाई सुसूचित गर्ने सामुदायिक एफएम स्टेशन रेडियो मेलम्चीबारे बनेको डकुमेन्ट्री हो यो। सिन्धुपाल्चोकको रेडियो मेलम्चीले नेपालमा गएको भुइँचालोपछि जनतालाई हरकिसिमबाट आवश्यक जानकारी प्रदान गरेको थियो।

रजिला श्रेष्ठको निर्देशनको रेडियो मेलम्ची भुइँचालोपछि राहत तथा पुनर्निर्माणमा मिडियाको भूमिकाको एक उदाहरण हो।

उ आयो आयो… (द एक्सपेरियन्स)
श्याम कार्कीको निर्देशनमा बनेको यो डकुमेन्ट्रीमा वैशाख १२ को भुइँचालोलगत्तै पछिको मनोविज्ञान र डरको तस्बिर कैद छ। यसमा राजधानीका फरक फरक ठाउँका मान्छेको अवस्था देखाइएको छ।

लामा फिल्म, नेपाली पानोरामा र अन्तर्राष्ट्रिय प्रतियोगिता

भाग्यले बाँचेकाहरू
हजरौंको ज्यान लिने, हजारौं मानिसलाई घाइते बनाउने र विस्थापित गर्ने भुइँचालोबारे बनाइएको गणेश पाण्डेको फिल्म ‘भाग्यले बाँचेकाहरू’ले नेपाल पानोरामातर्फ उत्कृष्ट डकुमेन्ट्री तथा अडियन्स अवार्ड जितेको थियो।

गोरखा जिल्लाको बारपाक गाउँलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भुइँचालोले ९ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। कैयौं घाइते भए, धैरै हराए। आन्तरिक रूपले पनि त्यतिकै विस्थापित भए। धेरैभन्दा धेरै घर नष्ट भए। नेपालको ७५ जिल्लामध्ये १४ जिल्लामा भुइँचालोले गम्भीर प्रभाव पार्‍यो।

त्यसको केही दिनमै दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर अर्को शक्तिशाली भुइँचालो गयो। काठमाडौं उपत्यकाका ऐतिहासिक धरोहर, मन्दिर नराम्ररी नष्ट भए। सडकहरू भत्केर परिवहन ठप्प भयो अनि मानिसको जीवन पूरै अस्त-व्यस्त भयो। फिल्ममा भुइँचालोका यस्तै क्षति केन्द्रमा राखिएको छ।

लिंक: https://vimeo.com/148602877
पासवर्ड: ganesh

ट्रेम्बलिङ माउन्टेन

केसाङ छेतेनको यो फिल्म किम्फ अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोस्रो पुरस्कार जित्न सफल भएको थियो।

भुइँचालोपछि रसुवा जिल्लाको लाङटाङबाट विस्थापित भएर पीडितहरू काठमाडौं आउँछन्। अधिकांश बासिन्दालाई गेलुग गुम्बामा राखिन्छ जहाँ तिनीहरूलाई बिस्तारै आश्रय, सीमित भोजन तथा केही मात्रामा स्वास्थ्यको हेरविचार गरिन्छ।

फिल्म निर्माता चोटबाट पीडित व्यक्तिहरूसँग कुनै मनोवैज्ञानिक समर्थनबिना साक्षात्कार गर्छन्। पीडितहरूले गर्मी तथा कम उचाइको सामना गर्नुपर्ने हुन्छ। एक साता पछि गाउँलेहरू आफ्नो गाउँ फर्केर शव तथा पशुधनको खोजी गर्छन् जसका लागि फिल्म निर्मातालाई स्थानीय चिज निर्माताले सहयोग पुर्याउँछन्।

लिंक:https://vimeo.com/206666475
पासवर्ड: 04032017KTM

ग्याल्मुको घर (ग्याल्मुज हाउस)
अस्मिता श्रीष र ग्याभिन कार्भरको संयुक्त निर्देशनको ‘ग्याल्मुको घर’ किम्फ २०१७ नेपाल पानोरामा उत्कृष्ट गैर-आख्यान विजेता फिल्म हो।

भुइँचालोले लाङटाङ उपत्यकालाई तहसनहस पारेको थियो। त्यसमा परी सयौंले ज्यान गुमाएका थिए। त्यसको एक वर्षपछि असाधारण जोस र जाँगर बोकेकी निमा ग्याल्मुले लाङटाङको दुर्गम ठाउँमा भत्केको घर फेरि ठड्याउँछिन्। अनि नयाँ वास्तविकतालाई आत्मसात् गर्दै नयाँ जीवनको सुरुवात गर्छिन्।

लिंक: https://vimeo.com/172291995
पासवर्ड: Langtang

Share.

About Author

Leave A Reply