सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी, मधेशी महिलालाई होच्याएको आरोप

0

सामाजिक सद्भाव बिथोलेको आरोपमा अभिनेता एवं टेलिभिजन प्रस्तोताद्धय सन्दीप क्षेत्री र सुरजसिंह ठकुरीविरुद्ध प्रहरीमा उजुरी परेको छ । एकजना मधेशी अधिकारवादीले काठमाडौंस्थित प्रहरीको साइवर अपराध महाशाखामा उजुरी दिएका हुन् ।

केटिभी समाचार सम्पादक प्रशान्त अर्यालसहित प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई समेत विपक्षी बनाइएको छ । पर्सा छिपहरमाइ गाउँपालिका स्थायी घर भइ वीरगंज महानगरपालिका १३ बस्ने ३५ वर्षिय अशोककुमार कुशवाह लगायतले प्रहरीमा उजुरी दिएका हुन् ।

उजुरी पत्रमा मधेशी महिलालाई जिस्क्याउने, होच्याउने, अपमान गर्ने र अमर्यादित कार्य गरेको आरोप लगाउँदै मुलुकी अपराध संहिता २०७४ को दफा ६५ को उपदफा १ बमोजिम कार्वाही माग गरिएको छ । मूभिमान्डुसँग कुरा गर्दै उजुरीकर्ता कुशवाहले मधेशलाई गलत तरिकाले चित्रित गर्नु न्यायोचित नभएको बताए ।

सन्दीपले केटिभीमा ह्वाट द फ्लप नामक कार्यक्रम चलाउँछन् । प्रहरीले माग बमोजिम प्रसारित कार्यक्रमको युट्युव लिंक पनि पठाइएको उनले बताए । तर, अहिले उक्त भिडियो युट्युवबाट हटाइएर प्राइभेट तुल्याइएको छ । यद्यपी डाउनलोड गरिएको प्रति प्रहरीमा बुझाइएको उजुरीकर्ताले बताए ।

क्षेत्रीविरुद्ध ट्वीटर र गुगलमार्फत डिजिटल हस्ताक्षर संकलन पनि सुरु भएको छ ।

Share.

About Author

Leave A Reply