बलिउडमा प्रतिस्पर्धा गर्दै नेटफ्लिक्स र अमेजन

0

बलिउडमा अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना स्टारर सिनेमा ‘गुलाबो सिताबो’ कोभिड–१९ का कारण हलमा प्रदर्शन हुन पाएन । १२ जुनमा अमेजन प्राइममा रिलिज भयो । महामारीले नछेकेको भए भारत मात्र होइन, संसारभरका हजारौँ सिनेमाघरमा यो फिल्म प्रदर्शन भइसकेको हुने थियो । अमेजन प्राइममा प्रदर्शन गर्नुको कारण एउटै थियो, भारतीय दर्शकमा बढ्दै गएको प्रविधि क्रेज । लकडाउनका कारण घरमै खुम्चिनुपर्दा दर्शक प्रविधिप्रति आकर्षित बनेको लाभ उठाउन चाहेका हुन्, यस फिल्मका निर्माताले ।

‘गुलाबो सिताबो’को सिको गर्दै अन्य बलिउड ब्लकबस्टर सिनेमा पनि नेटफ्लिक्स र डिज्नी प्लस हटस्टरजस्ता डिजिटल प्लेटफर्ममा रिलिज भएका छन् । ‘गुलाबो सिताबो’ले सीधै डिजिटल प्लेटफर्ममा रिलिज हुने पहिलो पाइला चालेको मात्र हो । एक अर्ब ३० करोड जनसंख्या रहेको भारत विश्वको दोस्रो ठूलो आवादी हो । अधिकांश दर्शक हलमा गएर सिनेमा हेर्न अभ्यस्त छन् । यस्तो अवस्थामा सीधा डिजिटल प्लेटफर्ममा सिनेमा देखाउनु आफैँमा चुनौतीपूर्ण हो ।

नेटफ्लिक्सले ६ वटा नयाँ फिल्मलाई आफूसँग जोडेको दाबी गरेको छ भने डिज्नीसँग सातवटा फिल्म पाइपलाइनमा छन् । बलिउड संसारको दोस्रो ठूलो सिने उद्योग हो । र, यो हालसम्म सिनेमाघरका टिकटबाटै समृद्ध बन्दै आएको छ । त्यसैले पनि नेटफ्लिक्स, डिज्नी, अमेजनजस्ता डिजिटल प्लेटफर्मका लागि यो नै सबैभन्दा सुनौलो मौका हो । बलिउडले हालसम्म अनलाइन सिफ्टिङमा रुचि देखाएको थिएन । कोभिड–१९ महामारीले डिजिटल अपरेटरहरूका लागि बलिउड सिनेमेकरलाई लोभ्याउने अभूतपूर्व मौका दिएको छ ।

अनुराग बसु निर्देशित तथा अभिषेक बच्चन, आदित्य रोय कपुर र राजकुमार राव स्टारर ‘लुडो’ पनि डिजिटल माध्यममा रिलिज हुने तयारीमा छ । अक्षय कुमार अभिनीत ‘लक्ष्मी बम्ब’ डिज्नी प्लस हटस्टरमा चाँडै रिलिज हुँदै छ । अमिताभ स्टारर ‘झुन्ड’ पनि नेटफ्लिक्समा रिलिज हुने सम्भावना छ । विद्या बालन अभिनीत बायोपिक ‘शकुन्तला देवी’ अमेजन प्राइममा आउँदै छ । कृति सेनन र पंकज त्रिपाठी अभिनीत ‘मिमी’ डिज्नी प्लस हटस्टरमा रिलिज हुँदै छ । अन्य सिनेमा पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा देखिन्छन् ।

भारतमा वार्षिक करिब एक हजार सिनेमा बन्छन् । साथै, संसारभरबाट बलिउड सिनेमाले अर्बौं भारतीय रुपैयाँ संकलन गर्छन् । नेटफ्लिक्स, डिज्नी प्लस हटस्टर, अमेजनजस्ता प्लेटफर्मले यही कारण बलिउडमा हात हालेका हुन् ।

कोभिड–१९ ले डिजिटल अपरेटरका लागि बलिउड सिनेमेकरलाई लोभ्याउने अभूतपूर्व मौका दिएको छ

‘अहिले एउटा स्कुल अफ थट छ, जसले सिनेमालाई गलत तवरले चलाइरहेको छ । जब सिनेमा व्यक्तिगत मनोरञ्जनमा सीमित बन्छ, तब यो फिका बन्दै जान्छ,’ प्रविधि र मिडियामा केन्द्रित बुटिक इन्भेस्टमेन्ट बैंकका प्रबन्ध निर्देशक उत्कर्ष सिन्हा भन्छन्, ‘यदि यो स्कुल अफ थट सही हो भने यो महामारी सिनेमाको भविष्यको यात्राका लागि प्रस्थान बिन्दु बन्नेछ ।’

भारतमा चार महिनायता अनलाइन स्ट्रिमिङ साइटहरूमा दर्शकको उपस्थिति उत्साहजनक छ । र, तिनै दर्शकलाई डिजिटल प्लेटफर्मबाट बाहिरिन नदिन जोडतोडका साथ बजार विस्तारमा लागिपरेका छन् । सिनेमाघरतिर सोझिने दर्शकको बाटो छेक्न स्ट्रिमिङ साइटहरूले अनलाइन फिल्म लाइब्रेरी निर्माणमै अर्बौं डलर खर्च गरेका छन् । र, यो लगानी बढ्दो छ । संसारभरबाट यस वर्षको दोस्रो त्रैमासिकमा मात्र एक करोड ग्राहक थपिएको नेटफ्लिक्सले बताएको छ, जुन वालस्ट्रिटले अनुमान गरेकोभन्दा ८३ लाख बढी हो ।

लकडाउनका वेला रेस्टुराँ, सपिङ मल र सिनेमाघर बन्द रहे । घरभित्रै खुम्चिनुपर्दाको विकल्प बन्यो, अनलाइनमार्फत मनोरञ्जन । त्यसको फाइदा स्ट्रिमिङ साइटहरूलाई हुनु स्वाभाविकै हो । यहीबीचमा नेटफ्लिक्सले आफ्नो बजारलाई व्यापकता दिने मौका पायो । र, अमेजन प्राइमजस्ता उसका प्रतिस्पर्धी पनि बजार विस्तारमा आक्रामक बने । यस्ता साइटले भारतमा बढेका आफ्ना ग्राहक संख्या स्पष्ट खुलाएका छैनन् ।

तर, दृश्य स्पष्ट छ, अब सिनेमाघर खुल्दै गर्दा तिनको मुख्य चुनौती अनलाइन स्ट्रिमिङ साइट नै हुनेछन् । स्ट्रिमिङ साइटतिर तानिएका दर्शकलाई सिनेमाघरसम्म डोर्‍याउन सहज हुनेछैन ।

यसको अर्को पाटो पनि छ । बलिउडका ठूला सिनेमामा आकर्षक गीत र नृत्य हुन्छन्, जुन ठूला पर्दामा दर्शक तान्ने एक मुख्य माध्यम हुन् । त्यसैले यदि हलमा दर्शक घटे भने त्यसबाट ठूलो बजेटका सिनेमा हल पनि संकटमा पर्नेछन् ।

त्यति मात्रै कहाँ हो र ! यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्म बलिउडमै स्थानीय सामग्री उत्पादनका लागि अर्बौं लगानी खन्याउने योजनामा छन् । र, भारतीय दर्शकलाई लक्षित गर्दै अनलाइन ग्राहक मूल्य पनि सस्तो बनाइएको छ । अनलाइन स्ट्रिमिङ साइटहरू कति आक्रामक रूपमा आइरहेका छन् भन्ने प्रमाण हो, यो ।

नेटफ्लिक्सका कार्यकारी अधिकृत रिड ह्यास्टिङले गत डिसेम्बरमा भारत भ्रमण गरे । र, सन् २०१९–०२० का लागि करिब ३० अर्ब भारतीय रुपैयाँ (४० करोड डलर) बलिउडमा खर्च गर्ने घोषणा गरेका थिए । भारतमा प्रशस्त स्थानीय सामग्री उत्पादन गर्ने उनको उद्देश्य देखिन्छ ।

डिज्नीले पनि आफ्नो प्लेटफर्ममा बलिउडका अत्यधिक सफल फिल्महरू थप्दै छ । डिज्नी पहिले भारतमा क्रिकेटमाथि निर्भर थियो । कोरोना भाइरसका कारण क्रिकेट प्रतियोगिता रोकिएपछि डिस्नेले आफ्ना ग्राहकलाई ‘ब्लकबस्टर’ सिनेमा उपलब्ध गराउन थालेको हो । यस्तै, अमेजनले पनि अहिले आफ्ना ग्राहकका लागि बलिउडका चर्चित फिल्महरूको संग्रह नै प्रस्तुत गरेको छ । त्यसमा चर्चित अभिनेता शाहरुख खानलगायतको अभिनय रहेका फिल्म छन् ।

सिनेमामा अनलाइन बजारले व्यापकता पाइरहँदा बलिउडले भने आफ्नो उद्योगको भलाइका लागि सिनेमाघरको संख्या घटाउने योजना बनाएको छैन । ओरम्याक्स मिडियाको सर्वेक्षणअनुसार लकडाउनका कारण ८२ प्रतिशत दर्शक सिनेमा हल जान पाएका छैनन् । भविष्यमा यसको असर पक्कै सिनेमा हलमै पर्नेछ । महामारी सकिएपछि र सिनेमा हल पूर्ण खुला भएपछि फेरि पुरानो अवस्था आउने र स्ट्रिमिङ प्लेटफर्मभन्दा हलमा रिलिजका लागि पालो कुरेर बस्न निर्माताहरू तयार हुने बुटिक इन्भेस्टमेन्ट बैंकका प्रबन्ध निर्देशक सिन्हा बताउँछन् ।

भारतका ठूला सिनेमा हल सञ्चालक अझै पनि ठूलो बजेटका फिल्म हलमै रिलिज हुनेमा विश्वस्त देखिन्छन् । जस्तो– भारतीय थिएटर अपरेटर इनोक्स लेजरका कार्यकारी अधिकृत आलोक टण्डनले गत महिना सम्पन्न एक कन्फरेन्समा भनेका थिए, ‘अझै पनि निर्माता साथीहरूमा थिएटरमा हुने प्रदर्शनको शक्तिमा विश्वास देखिन्छ ।’(ब्लुमबर्ग डटकमबाट)

Share.

About Author

Leave A Reply