कांग्रेस प्रवक्ता शर्मा अब कान्तिपुर टिभीका होस्ट !

0

नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्मा अब टेलिभिजन सो होस्ट बन्ने भएका छन् । आगामी कात्तिक ७ देखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘ऐना’लाई शर्माले संचालन गर्नेछन् ।

दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्न लागेको कार्यक्रमका विषयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराइएको थियो। २६ एपिसोडको कार्यक्रम सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुनेछ।

हरेक साता एक घण्टा प्रसारण हुने कार्यक्रम शर्माले सञ्चालन गर्न लागेका हुन्। प्रोजेक्ट हेडमा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, अनुसन्धान प्रमुखमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाले भूमिका निर्वाह गर्नेछन्।

कार्यक्रमको प्रस्तोता विश्वप्रकाश शर्मा हुनुहुन्छ हो ? भनेर हामीले यसका प्रोजेक्ट हेड धिताललाई सोधेका थियौ। उनले भने, ‘उहाँको सम्भावना बढी छ। तर कुनै निर्णय भएकाे छैन ।’

प्रोजेक्ट हेड राधाकृष्ण धितालका अनुसार ‘ऐना’ विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुनेछ। देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको प्याकेजका रुपमा कार्यक्रम तयार हुनेछ।

कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमाथि अनुसन्धान र स्थलगत रिपोर्टिङका लागि देशभर २८ जना अनुसन्धानकर्ता सक्रिय छन्। शर्मा राजनीतिबाहेक साहित्य र संगीतमा समेत सक्रिय छन्। अब उनको परिचयमा टेलिभिजन प्रस्तोता समेत जोडिने छ।

Share.

About Author

Comments are closed.