सिनेमा समिक्षा : घामपानी

0

विष्णु शर्मा
दीपेन्द्र लामाले फिल्मलाई समिक्षक आँखाबाट हेरे । यसपटक निर्देशकीय कोणबाट कथा भनेका छन् । उनको दृष्टिकोणमा आफू तामाङ युवक हुनुको जैविकता पनि मिसिएको छ । यसले उनलाई कथा वाचन गर्दा सामाजिक प्रक्रियामा इमान्दार बन्न मद्दत पुगेको छ ।

यसअघि जातिय कथामाथि बनेका फिल्ममा समाज, जात, संस्कृति र भूगोल अध्ययन थिएन । सामाजिक प्रक्रियाको चित्रणमा अभाव थियो । घामपानी त्यो प्रवृत्तिबाट मुक्त छ । जनजाति निर्देशकले निर्देशन गर्दा आदिवासित्वको वैज्ञानिक चित्रण हुने होइन । प्रश्न कन्टेन्टमाथि को कति इमान्दार हुने भन्ने हो, चाहे त्यो बाहुन नै किन नहोस् ।

पौने दुई घन्टा लामो घामपानीले प्रेममा जातिय सहिष्णुताको सन्देश दिन्छ । जातिय र क्षेत्रीय राजनीतिले टाउको उठाएको बेला घामपानीको विषयगत सन्देश सशक्त छ । दीपेन्द्रले संयोगान्त अन्तरजातिय प्रेम सम्बन्धको न्यारेटिभमा दृश्यभाषाको सामाजिक उत्तरदायित्व सम्झाएका छन् । निर्माता, लेखक, निर्देशकदेखि अधिकांश क्रिउ नै व्यक्तिगतरुपमा जनजाति भएपनि फिल्म एक्टिभिज्मबाट मुक्त छ ।

फिल्मले दयाहाङ राई (फूर्वा) र तारा (केकी अधिकारी)माथि फन्को मार्छ । काठमाडौंको पढाइ सकाएर पूर्वी नेपालस्थित गाउँ फर्किएकी ताराको पुनर्मिलन स्थानिय स्कुलको शिक्षक फूर्वासँग हुन्छ । उनीहरु दुबैजना बाल्यकालिन साथी र छिमेकी हुन् । सम्बन्ध अघि बढ्दै जाँदा प्रेममा पर्छन् । गाउँमा सरुवा भएर आएको प्रहरी अफिसर (अंकित खड्का)ले तारालाई मन पराउन थाल्छ । अनि द्धन्द्ध सुरु हुन्छ । उक्त अन्तरजातिय प्रेम सफल होला वा नहोला ?

यसको केन्द्रिय द्धन्द्ध अन्तरजातिय प्रेम हो । निर्देशक स्वयम तामाङ भएकैले उनले मुन्धुम संस्कार, लिम्बु भूगोलको भाषा, संस्कृति, रितिरिवाजदेखि सुक्ष्म चारित्रिक पक्षलाई दृश्यमा उतारेका छन् । बाहुन र तामाङबीचका द्धन्द्धात्मक सम्बन्धको जटिलता, हार्दिकतालाई उनले चेस खेलमार्फत विम्वको रुपमा बुनेका छन् । चेसको एकातिर बाहुन छ जो खेलमा झेली गर्छ र हार्न मान्दैन बरु खेल नै छाडेर जान्छ । चेसको अर्कोतर्फ तामाङ छ जो सोझो छ र खेलको नियममा कटिबद्ध रहन्छ । गाउँमा मोटर लैजाँदा उत्पन्न हुने झगडालाई स्थानिय राजनीतिक जटिलता र दृश्य सेटिङसँग चित्रण गर्न खोजिएको छ ।

कथा वाचनमा निर्देशक इमान्दार हुँदाहुँदै पनि त्यसले लय गुमाएको छ । नुसेन्स र प्रक्रियालाई सहि ट्रीटमेन्ट गर्दागर्दै पनि घामपानी व्याकरणका धेरै पक्षबाट कमजोर बन्न पुगेको छ । अर्थात, घामपानी सिनेम्याटिक भाषाको प्रयत्नभन्दा धेरै घटना र परिस्थितीहरुको मोन्टाज मात्र हो । ती घटना कारण र प्रभावहरुको स्वभाविक घर्षणबाट होइन कि बाह्य इभेन्टहरुबाट सिर्जिएका छन् । यसो हुनुमा पुरै फिल्मलाई ससपेन्स तुल्याउन खोज्ने लेखकीय नियत जिम्मेवार छ ।

जब लेखकले ससपेन्सलाई अन्त्यमा मात्र खुलाउने नियत राख्छ, फिल्मको मध्यम भागको यात्रा कृत्रिम बन्ने खतरा ज्यादा हुन्छ । दीपेन्द्र स्वयम पटकथा लेखक समेत भएकाले फिल्ममा उनको निर्देशकीय पक्षभन्दा लेखकीय पक्ष हावी छ । लेखक हावी हुँदा फिल्म परिणाम उन्मुख (रिजल्ट ओरिएन्टेड) बनेको छ । निर्देशक प्रभावशाली भएर सिनेम्याटिक इफोर्ट गरिनु जरुरी थियो । जसले केन्द्रिय द्धन्द्धलाई कमजोर तुल्याएको छ भने फिल्म अन्यौल सोचको उत्पादन बनिदिएको छ ।

घामपानीलाई एक वाक्यमा सिनेम्याटिक प्रयत्नभन्दा पनि पत्रकारिताको रिपोर्ताज शैली उन्मुख न्यारेटिभ मान्न सकिन्छ जहाँ सूचना र इभेन्टको संग्रह त हुन्छ तर, दृश्यको एस्थेटिक भ्यालु हुँदैन । सायद, निर्देशकको व्यक्तिगत मल्टिडायमेन्सन यसमा जिम्मेवार भयो वा बजारको दबाबमा उनले आफूलाई सिर्जनात्मक आत्मसमर्पण गराए ।

कथासँग आवश्यकै नपर्ने इभेन्टलाई राख्दा फिल्म लम्बिएको छ । सम्पादन गर्दा यस्ता त्रुटी धेरै ठाउँमा देख्न सकिन्छ । सम्पादकीय प्रयत्नमा इमान्दारिता देखिँदैन । निर्माता समेत रहेका छायांकार शैलेन्द्रध्वज कार्की सिनेम्याटिक डेप्थ बुझ्ने प्राविधिक पनि हुन्, उनले भूगोल स्थापनामा प्रयत्न गर्नुपथ्र्यो ।

दयाहाङ राई (फूर्वा) र केकी अधिकारी (तारा) फिल्मका प्राण हुन् । उनीहरुको जीवन्त अभिनयले फिल्म इन्गेज अवश्य तुल्याएको छ । तर, हाफटाइम पछाडि तारा पात्रलाई पुरै किल गरिएको छ । तारा पात्रसँगको भावनात्मक सम्बन्ध दर्शकलाई महसुस हुँदैन । उसको महसुस के हो ? किन ऊ विद्रोही चरित्र होइने ? किन चुपचाप विहेको कुरा मान्छे ? मण्डपबाट दुलाहलाई पुलिस चौकी लैजाँदा किन मौन छे ? फिलिङ्स के हो ? फूर्वालाई पक्राउ गरेर लगेपछि दुलही के सोच्छे ? उसको आँखबाट न्यारेसन प्रयत्न गरिएन । अन्य पात्रको वरपर घुम्ने मात्र किन बनाइयो ? जसले क्राफ्टको ठूलै पात्रप्रति अन्याय भएको छ ।

तारा पात्रलाई भावनाविहिन तुल्याइएर फिल्मलाई पुरुषवादी कोणबाट मात्र भन्ने प्रयास जस्तो लाग्छ । जसले गर्दा घामपानी इमान्दार प्रयत्न हुँदाहुँदै अन्यौल सोचको अन्यौल उत्पादन बनिदिएको छ । यद्यपी, तामाङ र बाहुन युवायुवतीबीचको प्रेमकथा हेर्न मन छ भने घामपानी तपाईंका लागि योग्य हुनसक्छ ।

सिनेमा : घामपानी
रेटिङ २/५
कास्ट : दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का
निर्देशक : दीपेन्द्र लामा

Share.

About Author

Leave A Reply