सिनेमा समिक्षा : लभ लभ लभ

0

विष्णु शर्मा
घरेलु फिल्म दुई खाले प्रवृत्तिमा बुर्कुसी मारिरहेको छ : पपुलर र प्योर फिल्म निर्माण । लभ लभ लभ पछिल्लो प्रवृत्तिको उत्पादन हो । प्योर (विशुद्ध) भन्ने वित्तिकै पैसा कम, कला पक्षको भूमिका बढी हुन्छ । यसमा दृश्य सौन्दर्य शाष्त्रको अपेक्षा गरिन्छ । पशुपति प्रसाद फेम्ड निर्देशक दीपेन्द्र के. खनाल उक्त अपेक्षा पुरा गर्न सक्षम रहे त ? यस समिक्षामा निर्देशकीय नियत र लभ लभ लभ प्रयत्नको चर्चा गरिनेछ ।

पोखरा यसको भूगोल हो । आफ्नै भाषा हुन्छ भूगोलको । दुई मध्यमवर्गीय ब्राम्हण तन्नेरी पात्र हुन् । समृद्धि (स्वस्तिमा खड्का) र सुरज (सुरज पाण्डे) बालसखा हुन् । सुरज समृद्धिलाई मनपराउँछ एकोहोरो । समृद्धिका लागि ऊ मिल्ने साथी हो । उच्च शिक्षा अध्ययनका लागि समृद्धि विदेश जाँदैछे । विदेश उड्न १२ दिनमात्र बाँकी छ । समृद्धिको माया पाउन सुरजले त्यो पिरियडभित्र उसलाई इम्प्रेस तुल्याउनैपर्छ । के सुरज यो लक्ष्यका लागि तयार छ ? दीपेन्दले कसरी टाइम एन्ड स्पेसभित्र कथा भन्छन् ? यो थाहा पाउन फिल्म हेर्नुपर्छ ।

कथा वाचकको रुपमा खनालको विकास देखिन्छ । पशुपतिप्रसादभन्दा बलियो इमोसन प्रवाह गर्न उनी सक्षम छन् । ‘इमोसन एन्ड भिजुअल थ्योरी’मा तेस्रो मनोवैज्ञानिक पात्र चर्चा गरिन्छ । पहिलो, दोस्रो पात्र अनि यी दुई पात्रबीचको भावना मिलाएर अर्को तेस्रो पात्रलाई उक्त सिद्धान्तले व्याख्या गर्छ । तेस्रो पात्र अवचेतन र अदृश्य हुन्छ । उक्त पात्रको निर्माण दर्शकीय मन र मस्तिष्कबाट सिर्जना हुन्छ । उक्त अदृश्य पात्रको निर्माणमा दीपेन्द्रले इमान्दार प्रयत्न गरेका छन् । नुसेन्स (मानवीय अन्तक्रियाको सुक्ष्मता) बुन्न सक्नु उनको सफलता हो ।

सिनेम्याटिक सफलताको मानक तपाईं चित्रबाट कति भावना प्रवाह गर्न सक्नुहुन्छ भन्नेमा निर्भर हुन्छ । नत्र त्यसले आत्मा गुमाउने खतरा हुन्छ । अघिल्लो फिल्म चपली हाइटमा दीपेन्द्रले उक्त आत्माको उपस्थितीलाई प्रभावशाली तुल्याउन सकेका थिएनन् । पशुपतिप्रसादपछि उनी लयमा फर्किएका छन् । पात्र स्थापनामा कमजोरी रहेपनि निर्देशकले इन्धन अभावको परिस्थिती सिर्जना गरेर फिल्मलाई समाज, राजनीतिसँग जोडेका छन् । यसले टाइम एन्ड स्पेस दर्शाएको छ । लभस्टोरीमा राजनीति हुनुहुँदैन भनेर फिल्मलाई समाजबाट अलग्याउन खोज्ने मूलधारलाई दीपेन्द्रले इन्धन संकटको अभाव देखाएर उत्तर दिएका छन् । यो ठूलो पल्टिक्स हो, पात्र र समाजको पल्टिक्स ।

राजनीति कसरी प्रेममा प्रभावशाली बनिरहेको छ चित्रण गजब छ । प्रेमिकालाई इम्प्रेस तुल्याउन एक लिटर पेट्रोलका लागि सुरज पात्र कसरी विचौलिया पात्र (ए गुरुङ)सामु पुग्छ र ल्याउँछ, चित्रण प्रभावकारी छ । गुरुङ फिल्मभित्र भन्छन् ः पेट्रोल दियो कि केटीसँग लभपर्न बेर छैन ।’ यो संवाद राजनीति र मायाको ट्रोल हो, जसले सीधै माथि चर्चा गरिएजस्तो मनोविज्ञानको तेस्रो पात्रसँग दर्शकीय अन्तक्रिया गराउँछ । फेसबुक लाइभ गर्नु, विदेश जान खोज्नु, बोक्सी भनेर दिशा खुवाउन खोज्नुले एकैसाथ हाम्रो देशले भोगिरहेको दुई असमान समयको चित्रण गर्छ ।

पटकथामा मिहेनत जरुरी छ । केन्द्रिय द्धन्द्धमा निर्देशक स्पष्ट छन् र संघर्ष पनि छ तर, अझै उचाइमा द्धन्द्ध जरुरी थियो । पात्रको बहुचरित्रकरण (मल्टिडायमेन्सन) विकास छैन जसले गर्दा उनीहरुको जीवनलाई बुझ्ने एकपक्षीय दृष्टिकोण निर्माण छ । उनीहरुको जीवनमा सामाजिक, सांस्कृतिक र उमेरका प्रभाव र द्धन्द्ध चित्रण जरुरी थियो । पात्रमा बहुचरित्र दर्शाउन सके द्धन्द्धका अनेक तह सिर्जना गर्न मात्र सकिने होइन, उनीहरुप्रति दर्शकीय अपनत्व विकास हुन्छ ।

उत्तम न्यौपानेको ध्वनीले दृश्य मनोविज्ञानमा गतिलो काम गरेको छ । उनले ३६० डिग्रीबाटै ध्वनी सिर्जना गरेका छन् र ब्याकग्राउन्डको परिस्थिती महुसस गर्न पनि सजिलो भएको छ । नत्र, नेपाली फिल्ममा फ्रेमभित्रको आवाजलाई मात्र ध्वनी भनेर परिभाषित गरिन्थ्यो । छायांकान सट्हरुले भूगोल स्थापनामा मद्दत गरेका छन् । पोखरा, फेवाताल र पामे हुँदै अघि बढ्दाका ल्यान्डस्केप सट्ले दर्शकलाई सँगै यात्रा गराउँछ । दुबै कलाकार नयाँ हुन्, उनीहरुको अभिनयमा अभिनयका केही सुक्ष्मता अभाव भएपनि दुबैले इमान्दार प्रयत्न गरेका छन् । डेब्यु अभिनेता सुरज पाण्डेले थ्री एक्ट संरचनामा आफूलाई फिट तुल्याएका छन् । स्वस्तिमा हेर्दा लाग्छ, उनी आधुनिक सहरिया तन्नेरी प्रतिनिधि पात्र हुन् जसको सौन्दर्य शाष्त्रमा अनमोल केसी हिरो लाग्छन् । लक्षित दर्शकको अवचेतन मनोविज्ञानले समृद्धि पात्रलाई गर्लफ्रेन्डको रुपमा हेरेको होला । यदि यसो हो भने यो निर्देशकीय सफलता हो ।

हिरोइज्म बिनै दर्शकीय अन्तक्रिया गराउन सक्नुमा निर्देशकीय खुबी देखिन्छ । पात्रहरु नेपाली न्यारेटिभमा स्थापित हुँदैछन्, मानवीय मूल्यको अन्तक्रिया सुरु हुँदैछ, अब एजेन्डा होइन, आत्मा र मूल्यले स्थान पाउँदैछन् भन्ने श्रृंखला हो लभ लभ लभ । तपाईंलाई चर्को अभिनय र संवाद, बलिउडले पारिभाषित गर्नेजस्तो मसला र नेपालीको यथार्थ जीवनभन्दा पर रहेर फिक्सन मुछिएको लार्जर द्यान लाइफ हेर्न मन छैन भने लभ लभ लभ तपाईंका लागि योग्य हुनसक्छ । तर, नेपाली सिनेमाले सुधार्नु पर्ने पक्ष भनेकै पटकथा हो ।

सबैलाई नयाँवर्ष २०७४ को मंगलमय शुभकामना ।

सिनेमा : लभ लभ लभ
रेटिङ : २.५/५
कास्ट : स्वस्तिमा खड्का, सुरज पाण्डे

Share.

About Author

Leave A Reply