बाहुबली २ : दुईदिने नेपाल नेट कलेक्सन (बक्सअफिस)

0

भारतीय सिनेमाको सांस्कृतिक प्रभुत्व पुनः नेपाली बक्सअफिसमा देखिएको छ । ‘बाहुबली २’ ले नेपाली फिल्म बजारमा ओपनिङ कीर्तिमान समेत रचेको छ । अझै दुई सातासम्म बाहुबली मेनिया निरन्तर हुने अनुमान छ ।

नेपाल वितरक गोपिकृष्णका अनुसार प्रभास र राना दागुबत्ती स्टारर एपिक फिल्मले दुई दिनमा १ सय ३० पर्दाबाट ५ करोड ४० लाख नेट (७ करोड ग्रस) कलेक्सन गरेको पुष्टि गरेको छ । गोपिकृष्ण मूभिज लेखापाल तीर्थ पौडेलले दुई दिनमै लगानी रिकभर भएको बताए ।

‘दुईदिनमै हामीले लगानी सुनिश्चित गरेका छौं’ पौडेलले भने, ‘अझै दुई साता माहौल बाहुबलीमय हुने कुरा निश्चित छ ।’ गोपिकृष्णले ३ करोड २० लाख नेरुको न्यूनतम सुनिश्चिततामा फिल्म खरिद गरेको उनले बताए । क्यूएफएक्सबाट मात्र फिल्मको दुई दिने कमाई ५५ लाख ग्रस छ । ‘यो कलेक्सन रेकर्ड हो’ क्यूएफएक्स वितरण प्रमुख बसन्त मानन्धरले भने ।

पहिलो दिन शुक्रबार झन्डै ३ करोड ग्रस र दोस्रो दिन शनिबार झन्डै ४ करोडको कमाई भएको जनाइएको छ ।

यसैबीच, हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस ८’ ले नेपाली पर्दामा ६ दिनमा ६६ लाख ग्रस कलेक्सन गरेको छ । भीन डिजेल स्टारर यो फिल्मलाई समेत दर्शकले रुचाइरहेका छन् ।

Share.

About Author

Leave A Reply