सिनेमा समिक्षा : रातो घर

0

विष्णु शर्मा
नेपाली टीनएज ड्रामालाई स्थापित गर्ने श्रेय सुरज सुब्बा नाल्बोलाई जान्छ । उनले ‘सायद’मार्फत घरेलु फिल्ममा जुभेनाइल (टीनएज मुख्य पात्र)माथि कथा भन्ने शैलीलाई उचाइमा लगे । उनको खास विशेषता भनेको दुई पुस्ताबीच द्धन्द्धात्मक सेतुको निर्माण गर्न सक्नु हो । उनी निर्देशित ‘रातो घर’ सहरमा रिलिज भएको छ । जसलाई हामी हाइव्रिड (तीन वा तीनभन्दा बढी जानराको मिश्रण) मान्न सक्छौं । नाल्बो, मनोविज्ञान र ‘रातो घर’ उत्पादनमाथि संक्षिप्त दृष्टि फ्याँक्नु आलेखको उद्देश्य हुनेछ ।

गुलेली ग्याङ । पूर्वी नेपालस्थित झापाली ग्याङ । कात्तिके (संयम पुरी), दुक्की (गौरव पहारी), झखमले (विल्सनविक्रम राई), कोरियन (विकेश श्रेष्ठ) ग्याङका सदस्य हुन् । झखमेल ग्याङको नेता हो । जीवनका दुष्कर परिस्थिती छल्न उनीहरु झापाली (अनुराग कुवँर) र देउराली (भानुप्रताप ढकाल)का निर्देशन मान्न विवश छन् । पैसा कमाउने एकमात्र उद्देश्य बोकेको गुलेली ग्याङ कसरी ग्याङस्टर फन्दामा पर्छ र अन्त्यमा नियति कस्तो आइपर्छ ? ‘रातो घर’ले ग्याङस्टर जीवनका आयाम पेश गर्छ ।

आफै पटकथा लेखक समेत रहेका नाल्बोले झापाली आञ्चलिकतामा ग्याङस्टर कथा भनेका छन् । हुन त यसको केन्द्रिय द्धन्द्ध सामाजिक मनोविज्ञान भर्सेस ग्याङस्टर हो तर यसभित्र बन्दुक पछाडिको ‘रोमान्टिसिज्म’ पनि जोडिएको छ । जुन नेपाली र भारतीय राजनीति, अन्डरवल्र्ड र कर्पोरेट रस्साकस्सीको यथार्थ हो । यो यथार्थको दाम्लोले युवा सपनालाई कसेको छ । रातो घर भन्छ : वर्तमान नेपाली समाज विवेकशिल मस्तिष्क होइन, डनगिरी जन्माउने उर्वरभूमि बन्दैछ ।

‘रातो घर’भित्र यस्ता पात्र छन् जो जीवनदेखि निराश, हतास र जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोचले बाँधिएका छन् । यो सोच यतिबेला प्रत्युत्पादक भैदिन्छ जतिबेला ठूला ग्याङस्टर आफ्नो उद्देश्यका लागि उनीहरुलाई प्रयोग गर्छन् । निर्देशकले पात्रका तीन द्धन्द्धात्मक तह चित्रण गरेका छन् । पहिलो तह : बाह्य, दोस्रो : सम्बन्ध र तेस्रो : आन्तरिक । यी तीन द्धन्द्धात्मक तहले दर्शकलाई इन्गेज त गराउँछन् तर, पटकथा लेखकले अझै द्धन्द्ध सिर्जनाका ट्रीटमेन्टको विकास गर्नु जरुरी थियो । झापा भन्ने निश्चित थलो किटान गरिसकेपछि त्यहाँको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिक पाटोको स्थापना अनिवार्य हुन्थ्यो जसले गर्दा पात्र र द्धन्द्ध स्थापनामा सजिलो हुने थियो ।

यद्यपी, तीन द्धन्द्धात्मक तहले दर्शकलाई इन्गेज गराउँछन् । हुन त, झापाको राजनीतिक इतिहास एमालेको चर्चित खुकुरी काण्डदेखि सुरु भएको हो र यो भूगोल भारत सीमावर्ती पर्छ । यसको अर्थ, यी दुई ऐतिहासिक परिघटनासँग हिंसा जोडिएको छ । हिंसाले जन्माउने हिंसा हो, त्यसको सिनेम्याटिक ट्रीटमेन्टलाई निर्देशकले वर्तमानमा चित्रणको प्रयत्न गरेका छन् । अर्कोतर्फ छायांकन राती गरिएको छ जसले गर्दा ग्याङस्टर मनोविज्ञान र सिनेम्याटिक डेप्थको विकास छ ।

विल्सनविक्रम राई, संयम पुरी, गौरव पहाडी, मेनुका प्रधान आफ्नो अभिनयमा फिट छन् । खासगरि विल्सन र मेनुकाको अभिनयमा बहुचरित्रकरण देख्न सकिन्छ । अनुराग ग्याङस्टर पात्रमा लाउड छन् । भानुप्रतापलाई पात्रात्मक चरित्रमा मल्टिडायमेन्सन महसुस गर्न सकिन्छ । समग्रमा ‘रातो घर’ हेर्नयोग्य सिनेमा हो : यसमा आवरण मात्र होइन, सिनेम्याटिक गुदी पनि छ । चारवटा जानरा मिलेर रातो घर बनेको हो । ठ्याक्कै एउटै जानरा भन्न कठिन छ । दर्शकले व्यवसायिक मनोरञ्जन लिनसक्ने ठाउँ छन् ।

सिनेमा : रातो घर
निर्देशक : सुरज सुब्बा नाल्बो
कास्ट : विल्सनविक्रम राई, गौरव पहाडी, संयम पुरी, अनुराग कुवँर, भानुप्रताप
निर्माता : निकेश लिम्बु
ब्यानर : माङहिम फिल्मस र तक्मे प्रोडक्सन
देश : नेपाल

Share.

About Author

Leave A Reply